Ward no 4
पञ्चासे र भञ्ज्याङः
स्याङ्जा, कास्की र पर्वतको संगम स्थल, हरियाली जङ्गल भएको डाँडो, जङ्गलको बिचमा पाँचकुना परेको ताल छ । यो ताल घना जंगलको बीचमा भए पनि तालमा रुखका पातहरु देखिदैनन् । तालमा खसेका पातहरु चराहरुले टिपेर फाल्छन् भन्ने भनाइ छ । पहिला यसलाई पञ्चकोशे ताल भनिन्थ्यो । भन्दै जाँदा पछि यस ताललाई पञ्चासे भनिएको भन्ने भनाई छ । यही तालको नामबाट यस ठाउँको नाम पञ्चासे रहन गएको हो । सिद्धबाबा मन्दिर, गुम्बा, चर्च, सूर्योदय र सूर्यास्त देखिनु, विश्वभर नपाइने २ प्रजातिका सुनाखरी (इरिया पोखेरेन्सिस र पनिसिया पञ्चानेन्सिस) पाईनु, सुनगाभा, प्रशस्त जङ्गली जनावरको बासस्थान यस क्षेत्रका पर्यटकीय आकर्षणहरु हुन् । यहाँ चिराइतो, सत्तुवा जस्ता औषधिजन्य वनस्पतिहरु पाइन्छन् । त्यसैले यो स्थान धार्मिक एवं वातावरण संरक्षण, पर्यटकीय स्थलको रुपमा चर्चित छ ।
पञ्चासेस्याङ्जाकोनौडाडादेखिसेपतभईश्रवणकुमारसमाधीस्थल र भञ्ज्याङ हुँदै जान सकिन्छ । नौडाडा–फूलवारी–दह–सरादी–श्रवणकुमार समाधिस्थलको बाटो हुदै भञ्ज्याङ निस्किएर पनि जान सकिन्छ । पञ्चासेको वेस क्याम्प भन्दा पनि फरक नपर्ने भञ्ज्याङमा खान तथा वस्नको लागि होटलहरु छन् ।


श्रवणकुमार समाधि स्थल
पितृभक्त श्रवणकुमार पानीको खोजीमा यसै ठाउँ घ्याङ्स्याङदीमा आई दहमा गाग्रो डुवाउँदा शिकार खेल्न आएका राजा दशरथले मृगको आवाज ठानी शब्दभेदी वाण हान्दा श्रवणकुमारलाई लाग्यो र उनी मरणासन्न छटपटाहटको अवस्थामा चित्कारपूर्ण आवाज सुनी राजा दशरथ त्यहाँ आउदा श्रवणकुमारले आफ्नो बेलीबिस्तार सुनाउदै यसै स्थानमा ब्रह्मालिन भए । त्यसै वेलादेखि श्रवणकुकारले देह त्याग गरेको त्यस पोखरीको पानी रगत जस्तो रातो देखिन थालेको भन्ने किंवदन्ती छ । आफ्नै भान्जाको हत्या गरेको हुनाले राजा दशरथलाई श्राप लागेको हुनाले यही पोखरीबाट वग्ने खोलालाई सरापी खोला भन्न थालियो । पछि अपभ्रंश हुदै यस खोलाको नाम सरादीखोला रहन पुग्यो । उही बेलादेखि रातो पानी वगेको देखिने सरादी खोला र आँशु जस्तै देखिने अन्धाअन्धी खोला वडा नं. २ मा पर्ने देभिल्लामा मिश्रित भई एउटै खोलाको रुपमा वग्ने गर्दछन् । जसलाई संयुक्त रुपमा आँधीखोला नै भनेर चिनिन्छ । यो श्रवण कुमार समाधीस्थल क्षेत्र धार्मिक एवं पौराणिक रुपमा अति पवित्र र पित्तृ उद्धारको महत्वपूर्ण स्थलको रुपमा स्थापित रहेको छ ।यस स्थानमा श्रवणकुमारको मृतशिला अवस्थित छ । यही स्थानमा मन्दिर बनाई पूजा आजा गर्ने गरिन्छ भने बालाचतुर्दशीको दिन विशेष मेला लागी भजन किर्तन सहित सद्बीज छर्ने गरिन्छ । यस क्षेत्रदेखि अन्धाअन्धी क्षेत्रसम्म सद्विज छर्दै जाँदा पितृहरुले पाउने विश्वास गरिन्छ ।
ढुङ्गो उचालेकी देवीको मन्दिर ः
आँधीखोला गाउँपालिका वडा नंवर ४ देविस्थान वतासेमा देविस्थान मन्दिर अवस्थित छ । नौडाँडादेखि कार्कीनेटा सडक खण्ड अन्तर्गत १५ किलोमिटरको दूरीको यात्रा पार गरेपछि यस स्थानमा पुुग्न सकिन्छ । नौडाँडाबाट १० किलो मिटरको यात्रा पार गरेपछि सेपत बाट पञ्चासे सडकखण्डतर्फ करिव ५ किलोमिटरको यात्रा पार गरेपछि यस कि.मी.को यात्रा पछि मन्दिरमा पुुग्न सकिन्छ । आजभन्दा करिव २५० वर्ष पहिले वागलुङ् कालिका मन्दिरबाट शिला ल्याई यस मन्दिरमा स्थापना गरी पूजाआजा गर्दै आएको पाइन्छ । यसलाई ढुङ्गो उचालेकी देवी पनि भन्ने गरेको पाइन्छ । कालिका देवीको शक्तिपीठको रुपमा स्थापित यो मन्दिरमा भाकल गरी पूजाआजा गरे आफूले मागेको वरदान प्राप्त हुने जनविश्वास रहेको छ । स्थनीय उपभोक्ताको सक्रियता साथै आँधीखोला गाउँपालिकाको अनुदानमा प्यागोडा शैलीमा निर्माण नयाँ मन्दिर निर्माण गरी चारै तर्फ घेरावार गरेर व्यवस्थित वनाइएको छ । विशेष गरी वडा दशैको सप्तमीदेखि नवमीसम्म र चैत्रे दशैको अवसरमा स्थानीय समुदायले भाकल, पञ्चवली लैजाने चलन छ । यस मन्दिरमा परेवा, कुखुरा, पाठा, राँगाको भाकल गरी वली दिने प्रचलन छ । वडादशै र चैत्रे दशैमा अन्य छिमेकी पालिकाका भक्तजनहरु पनि भाकल लिएर दर्शन गर्न आउँछन । यस मन्दिरको परिसरमा शिवालय मन्दिर र पौवा रहेको छ ।
