आँधीखोला गाउँपालिकाको वडा नं १ पञ्चमुलमा अवस्थित गुरुङ बस्ती भएको सिरुबारी गाउँमा घरबास कार्यक्रमका अभियन्ता पूर्व सांसद क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा वि.सं. २०५४ सालमा होमस्टे सञ्चालनमा ल्याइएको थियो । यो नेपालको पहिलो होम स्टे गाउँ भएकोले होम स्टेको जनजी होम स्टे मानिन्छ । चिटिक्क मिलेको यो गाउँमा शुरुमा ३९ घर धुरीबाट सञ्चालन भएको होम स्टे कार्यक्रम हाल २२ घरमा सञ्चालित छ ।
यस गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु स्थान अवलोकन तथा मनोरञ्जनका लागि आउने हुनाले पर्यटन व्यवसाय फस्टाएको छ । यस होम स्टेमा एक पटकमा १५० जनासम्म मानिसलाई वसोवास गराउन सकिने व्यवस्था छ । अधिकांश मानिसहरु गुरुङ समुदायका भएको हुनाले गुरुङ संस्कृति झल्किने कार्यक्रमहरु हुन्छन् ।
गाउँको बीचमा गुम्वा रहेको छ । यो गुम्वा निकै कलात्मक ढंगबाट बनाइएको छ । पाहुनाहरु गाउँमा जाँदा यसैं गुम्वाको प्राङ्गणमा वाजागाजा साथ सम्मान सत्कार गरिन्छ । गाउँका सवै मानिसहरु यसै गुम्वामा भेला हुन्छन् । यसै कारण यो गुम्वा एकताको प्रतीकको रुपमा रहेको भान हुन्छ । ढुंगाले छाएका, चिटिक्क परेका घरमा आगन ढुंगाले नै छापिएको छ । ढुंगाले छापिएको बाटो सफा र सुन्दर देखिन्छ । सवै घरमा फूलहरु रोपिएको र फूलको सुगन्धले गाउँमा नै अत्तर छर्किएको हो कि भन्ने भान हुन्छ । फूलहरु ढकमक्क फुल्दा स्वर्गको एक टुक्रा यही गाउँ नै रहेछ कि भन्ने आभाष हुन्छ ।
सभ्य र अनुशासित संस्कार यहाँको पहिचान हो । पाहुनाको सत्कार यहाँको मुख्य धर्म हो । बाह्य पर्यटकहरु आउने हुनाले यहाँको कला संस्कृति देश विदेश माझ फैलाउन सहयोग मिलेको छ । स्थानीय परिकार कोदोको ढिडो, रोटी, गुन्द्रुक, सिन्की आदिको स्वादमा रमाउदै पर्यटकहरु आनन्दानुभूति गर्दछन् ।