आँधीखोला गाउँपालिका वडा नं. १ मा पर्ने म्हाँजु भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात हुदै आएको छ । सेतीदोभानबाट सवारी साधन मार्फत करिव आधा घण्टाको दूरीमा रहेको यस ठाउँ गोरुजुरे जाने फुटट्रेल र साइकल यात्राको गन्तव्यको रुपमा परिचित छ । निकै रमणीय दृष्यावलोकनको आनन्द प्राप्त गर्न सकिने यो ठाउँ सामुहिक पिकनिक तथा बनभोज जानेहरुको लागि पहिलो रोजाइमा परेको पाइन्छ ।
विभिन्न हिमाली दृष्यहरु संगै हरियाली बन जंगलको दृष्य हेर्न सकिने यो भञ्ज्याङसंगै थुम्रोको जुरो, गोरु जुरे र कोशेली घर पनि निकै आकर्षक पर्यटकीय स्थान हुन् । यी स्थानबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमालहरुको मनमोहक दृष्य देखिन्छ भने विहान सूर्योदयको दृष्य अभूतपूर्व मानिन्छ । अग्ला डाँडा, गुराँस फुल्ने पाखा निकै मनमोहक छन् । वसन्त ऋतुमा गुराँस फुल्दा विवाहमा सिगारिएकी बेहुली झै देखिने ती डाँडाहरु नियाल्दा प्रकृतिको अतृप्त प्यास मेटाउन सकिन्छ ।
यी स्थानहरुमा जानको लागि हाल पदमार्गहरुको निर्माण कार्य भएको छ । सिरुवारी– फँलाटे –मैदानखर्क हुँदै थुम्रोको जुरो जाने पदमार्ग, म्हाजु भञ्ज्याङ– गोरुजुरे–थुम्रोको जुरो हुदैं डहरे देउराली मठ जाने पदमार्ग, पञ्चमूल–खनिज दुलो–मधुकुण्ड हँुदै थुम्रोको जुरो जाने पदमार्ग, भकिम्ले–बज्यानीडाँडा–कुलमन्दिर हँुदै डहरे देउराली जाने पदमार्ग । यी पदमार्गको निर्माण पछि यस ठाउँमा आवतजावत गर्न र दृष्यावलोकन गर्न सहज हुनेछ । म्हाँजु भञ्ज्याङमा पार्कको निर्माण गरिएको छ । जुन चित्ताकर्षक छ । दृष्यावलोकन गर्न, पिकनिक जान, क्याम्पिङ गर्न समेत सुविधा छ ।
यो स्थान वन क्षेत्रसँगै जाडिएको हुनाले स्वच्छ हावा, वनजंगलको मनै लोभ्याउने दृष्य अनि उत्तर तर्फ माछापुच्छ्रे र अन्नपूर्ण हिमालको हिम छादन हामीलाई नै हेरेर मुस्कुराएको जस्तो देखिन्छ । म्हाँजु भञ्ज्याङ नजिकै पर्यटकीय स्थल थाप्ले जहाँ ठूलो बुद्धको मूर्ति सहित अवस्थित छ । यस स्थानमा पनि क्याम्पिङ गरेर सिरुवारी भ्रमणलाई थप सार्थक बनाउन सकिन्छ