समुन्द्री सतह बाट करिब १७०० मिटरको उचाइमा अबस्थित आधिखोला गाउपालिका वडा न.१ पंचमूलमा शतब्दीयौ बर्स पहिला अन्यत्रस्थान बाट सुरक्षित बसोबास, ब्यबस्थित लेकाली पशुपालन कृषि प्राणालीको सहज स्थान पहिचान गरेर यस स्थान आएर बसोबास गर्नु भएका विभिन्न जातजातिको आस्था भरोशा निष्ठा र बिस्वासको प्रतिक हो |
डहरे देउराली आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमूल (स्याङजा) र वडा नं. ३ विचारी चौतारा चाउका, अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ आरुचौर (स्याङजा) र फलेबास नगरपालिका वडा नं १ कार्कीनेटा (पर्वत) को संगम स्थल हो । सिरुवारी भक्किम्ले हुँदै जाने मार्ग सवैभन्दा छोटो मार्ग हो भने पर्वतको कार्किनेटा हुदै पनि यस स्थानमा जान सकिन्छ । यहाँ देउरालीको मठ, शिव मन्दिर र मोक्षद्वारी बाल योगाश्रम रहेका छन् । देउराली मठ महत्वपूर्ण तीर्थस्थलको रुपमा रहेको छ । जनश्रुति अनुसार बाग्लुङ कालिका र डहरे देउराली देवी दिदी बहिनी हुन् भन्ने कथन हुनाले यसको महिमा महत्वपूर्ण छ ।स्थानीय लगायत टाढा टाढाका मानिसहरुले ‘आफ्नो मनले चिताएको कुरा पूरा होस्’ भनी देउराली माइको भाकल गर्दै देउराली मठमा बली पूजा समेत गर्ने चलन छ ।
देउराली मठको आफ्नै गुठी छ । त्यसैले यहाँ हरेक वर्ष सामाजिक बली पूजा पनि गरिन्छ । यो स्थान उच्च भागमा रहेको हुनाले यहाँबाट धौलागिरी, अन्नपूर्ण जस्ता रमणीय हिमश्रृखलाहरुको साथै आठ जिल्लाका सदरमुकाम समेतको दृष्यावलोकन गर्न सकिन्छ । यो उच्च भागमा गुँरास प्रशस्त पाइने हुनाले गुराँस फुल्दाको दृष्य झनै मनमोहक देखिन्छ । बाला चतुर्दशीको अवसरमा सद्विज छर्ने र देवीको मठदेखि नजिकै रहेको अर्को उच्च भागसम्म बाव्वियो र फूलहरुबाट निर्मित तोरण तार्ने गरिन्छ यसो गर्नाले देवी खुसी हुने र मनोकांक्षा पूरा हुने कथन छ । साथै नव दुर्गा भरी मेला लाग्ने गर्दछ भने कार्तिक तथा वैशाख महिनामा पानी परोस भनेर वली पूजा तथा पूजाआजा गर्ने प्रचलन छ ।
डहरे देवीको मठबाट केही तल मोक्षद्वारी बाल योगाश्रम भएको स्थानमा वि.सं. २०४३ सालमा मुक्तिनाथबाट पञ्चाग्नी ल्याई ज्वाला निमार्ण गरिएको र हालसम्म पनि सो अग्नी ननिभी बलिरहेको छ । यहाँ शिवालय मन्दिर पनि रहेको र यस मन्दिरमा नियमित पुजाआजा ब्रह्मचारीबाट हुन्छ । निजको भरण पोषणको लागि गुठी जग्गाबाट प्राप्त आय प्रयोग गरिएको छ । यहाँ बालाचतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्ने गर्दछ । अन्धाअन्धी क्षेत्रदेखि सद्विज छर्दै यस स्थान सम्म आउने प्रचन रहेको छ । शिवालय भएको स्थानबाट देउराली मठ भएको ठाडो पहरामा हेर्दा शिवजीको मुखाकृति देखिने हुँदा यो ठाउँको विशेष महत्व रहेको छ । यस स्थानमा एउटा गुफा छ जहाँ योगीहरु ध्यान बस्ने गर्दथे भन्ने गरिन्छ ।