आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमुल आफैमा एक ऐतिहासिक ठाउँ हो । जहाँ ५ वटा पानीका मूल भएको हुनाले यस ठाउँको नाम पञ्चमुल रहन गएको जनश्रुति छ ।
अहिले तिनै मूलहरुको संरक्षण गरी ढुङ्गाका धाराहरु निर्माण गरिएको छ । यस क्षेत्रमा रहेको होम स्टेमा रमाउन आउने पर्यटकलाई आनन्द तुल्याउन भ्यु टावरको निर्माण गरिएको छ भने अर्को पर्यटकीय आकर्षक तथा रमणीय ठाउँ बुद्ध पार्क जसलाई पिकनिकको लागि उपयुक्त मानिन्छ । यहाँबाट निकै मनोरम दृष्यहरुको अवलोकन गर्न सकिने हुनाले र सुरक्षित वातावरण रहेको हुनाले पर्यटकहरु आफ्नौ शैलीमा टेण्ट प्रयोग गरी बास बस्न सक्छन् ।
यो स्थानमा ॐ बुद्ध संग्राहलय रहेको छ । यसमा गुरुङ समुदायको संस्कृति र कला झल्काउने वस्तुहरु संग्रह गरी राखिएको छ । यसबाट गुरुङ जातिको संकृति अध्ययन गर्न सहज भएको ठानिएको छ । त्यस्तै ब्राह्मण संग्राहलय निर्माणको क्रममा रहेको छ । यस्तै अर्को ऐतिहासिक ठाउँ खनिज दुलो पनि यहि वडामा पर्दछ । खनिजको लागि पुरातत्व विभागले समेत अध्ययन गरेको सो दुलो निकै गहिराइसम्म रहेको स्थानीयहरुको भनाइ छ । यस बारे थप अध्ययन र अनुसन्धान जारी छ ।